काठमाडौं । नेपाली कांग्रेसले कोरोनाको अस्थायी अस्पताल, आइसोलेसन सेन्टर निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग गरेको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले एक ट्विट गर्दै नेपाली सेनालाई आवश्यक बजेट दिई प्रदेशहरूमा तत्काल अक्सिजन सुविधासहितको अस्थायी अस्पताल र आइसोलेसन सेन्टर निर्माणको जिम्मा दिन माग गरेका हुन् ।
बोर्डर र प्रदेशका सिमानामा मानिसको आवागमन अव्यवस्थित भएकाले एन्टिजोन परीक्षणपछि मात्रै घर जाने प्रबन्ध गर्न पनि उनले सरकारसमक्ष माग गरेका छन् । व्यवस्थित गरी एन्टिजोन टेस्टको काम भने सेनालाई दिन उनले सरकारलाई सुझाव दिएका छन् ।
‘नेपाली सेनालाई आवश्यक बजेट दिई प्रदेशहरूमा तत्काल अक्सिजन सुविधासहितको अस्थायी अस्पताल र आइसोलेसन सेन्टर निर्माण अनि बोर्डर र प्रदेशका सिमानाहरूमा मानिसको आवागमनलाई व्यवस्थित तरिकाले तरिकाले एन्टिजिन टेस्टगरि गन्तव्यसम्म उपयुक्त ब्यबस्थापन गर्ने जिम्मेवारी सुम्पन ढिलो नगर सरकार,’ खड्काले ट्विटरमा लेखेका छन् ।

















