काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले कोरोना संक्रमितलाई बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको टिप्पणी गरेका छन्।
शर्माले संकटको घडीमा नागरिकलाई सरकारले आड तथा ढाडस दिनुपर्नेमा सरकार आफैँ गैह्रजिम्मेवार बनेको आरोप लगाएका छन् ।
एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपील गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ, अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ।
अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार भएको भन्दै, यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन नसकिने उनले बताएका छन् ।साथै कांग्रेसले राजनैतिक दलहरु, संघ-संस्था र समाजसँग सरकारले के सहयोग अपेक्षा गरेको हो प्रष्ट पार्न समेत माग गरेको छ ।

















