बाँके । बाँकेको खजुरास्थित गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा भेटिएको छ । कागजमा उद्योग चलाउन हदबन्दी छुट दिइएपनि उक्त जग्गा भूमाफियाको कब्जामा रहेको भेटिएको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छानविनपछि उक्त तथ्य सार्वजनिक भएको हो । केही समयअघि मात्रै बाँकेबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सो जग्गा सम्बन्धि छानविन समिति गठन गरेका थिए । उक्त समितिको छानविनपश्चात १ सय ८० विघामध्ये ७५ बिघा अतिक्रमणमा परेको र बाँकी जग्गा पनि मिल्सको मिलेमतोमा भूमाफियाले भोगचलन गर्दै आएको खुलेको हो ।
अतिक्रमित ७५ बिघा जग्गामा १ हजार १ सय घर बनेका छन् ।प्रशासनले गठन गरेको छानविन समितिमा जिल्ला समन्वय समितिका अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतबहादुर कक्षपति, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामचन्द्र शर्मा, नापी कार्यालयबाट पूर्णप्रसाद पाण्डे र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन सुवेदी, भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख अमरराज सेजुवाल रहेका थिए ।
जग्गाको हदम्याद थप गरिदिन भन्दै गत भदौ ८ गते प्रालिका अध्यक्ष जैनेन्द्रकुमार टण्डनले भूमि सुधार तथा मालपोत कार्यालयमा निवेदन पेस गरेका थिए । त्यसक्रममा उक्त जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भइरहेको आशंकाका आधारमा छानबिन समिति गठन भएको थियो ।

















