जन प्रभाब-२०७७ बैशाख ६ गते ,
जनकपुर । जनकपुरधाममा रकम छरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द र भाउजू हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी रामेश्वर कार्कीले रकम छरेर फरार दुवै महिलालाई जनकपुरधाम –७ स्थित निवासबाटै नियन्त्रणमा लिएको जानकारी दिए ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महावीर चोकमा रु १० को झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि यो क्षेत्रमा त्रास बढेको थियो ।
उनीहरुले रकम किन छरेको हो ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी रहेको कार्कीले बताए । कार्कीले छरिएको नोट कोरोना संक्रमणसम्बन्धी शंकास्पद भएकाले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जानकारी दिनु भयो । त्यहाँबाट रिपोर्ट आएपछि बाँकी प्रक्रिया अगाडि बढाइने उनले बताए ।
तपाईको प्रतिक्रिया !
