काठमाडौं, । विकिनी किलर चाल्र्स शोभराज पुनः एक पटक चर्चामा आएका छन् । सन् १९६३ देखि १९६७ सम्मको अवधिमा श्रृंखलाबद्ध हत्यामा कुख्यात अपराधी शोभराजले हालै बेलायती ट्याबोलाइड मिडिया सन्डे मिरर र डेलिमेलमा ‘आफू निर्दोष रहेको र ३ देखि ४ सातामा छुट्न लागेको’ भन्दै अन्तरवार्ता दिएपछि पुनः चर्चामा आएका हुन् ।
त्यसवेला ११ मुलुकका प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए । हाल उनले केन्द्रीय कारागारमा जन्मकैदको सजाय काटिरहेका छन् ।
शोभराजले आफूलाई अवैधरुपमा जेलमा राखिएको भन्दै झण्डै एक अर्ब नेपाली रुपैयाँ क्षतिपूर्ति माग गरेको समेत बयान दिएका छन् । यसरी कारागार व्यवस्थापन विभागको अनुमति बिनानै उक्त अन्तर्बार्ता बाहिरिएपछि आन्तरिक रुपमै छानबिन भएको बताइएको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार गत वर्षदेखि कैदी शोभराजलाई भेट्न कोही पनि पुगेका छैनन् । तर, गत वर्ष कोरोना महामारीका कारण लकडाउन हुनु अगाडि भने उनका कानून व्यवसायी भेट्न आएको बताइएको छ ।
तर, कुनै पनि मिडियाकर्मी आएर अन्तर्र्वार्ता भने नलिएको कारागार व्यवस्थापन विभागले जनाएको छ । कैदीबन्दीहरुले नियमित रुपमा साताको २ दिन भने आफ्नो आफन्तलाई फोन गर्न पाउँछन् । सोही क्रममा शोभकान्तको उक्त अन्तर्र्वार्ता बाहिरिएको हुनसक्ने आँकलन गरिएको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार शोभराजले विशेषगरी फ्रान्स, अमेरिका र बेलायत गरी तीन राष्ट्रमा फोन गर्ने गरेका छन् । उनले त्यहाँका आफ्ना आफन्तहरुसँग सातामा दुई पटक फोनबार्ता गर्ने गरेका छन् ।
शोभराजले आफ्नो आफन्त तथा साथीभाईसँग कुराकानी गर्दा रेकर्ड गरेर मिडियालाई दिएको हुनसक्ने अनुसन्धानबाट देखिएको छ । त्यसोत, छानविनकै क्रममा उक्त अन्तर्वार्ताबारे सोध्दा शोभकान्तले अस्वीकार गरेको पनि जानकारी गराइएको छ ।
२० जनाभन्दा बढीको ज्यान लिएको आरोपमा २००३ मा पक्राउ परेका शोभकान्तले गत २७ मार्चमा छापिएको समाचारमा केही सातामा नै आफू छुटिन लागेको बताएका थिए । शोभराजले जन्मकैदको सजाय पूरा गर्न अझैंपनि तीन वर्ष लाग्नेछ ।
