काठमाडौं । होलीमा ललितपुरमा लागुपदार्थ सेवनको र्यापिड टेष्टिङ गरिएको छ। आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा लागुपदार्थ सेवनको र्यापिड टेष्टिङको किट प्रयोग गरेको हो।

आइतबार ललितपुरमा सात जनामाथि यो किटको प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक ( डीएसपी ) शरत कुमार थापा क्षेत्रीलेले जानकारी दिए। त्यसमध्ये ३ जनाले लागुऔषध प्रयोग गरेको पाइएको उनले बताए।
लागुऔषध खाएको पाइएपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको छ। ‘मापसे चेक गर्ने त पुरानो तरिका छँदैछ। त्यसबाहेक आज हामीले लागुऔषध खाए/नखाएको चेकिङ गरेका छौं। विशेषगरी होलीलाई लक्षित गरेर चेकिङ गर्यौं,’ डीएसपी थापाले भने, ‘ ७ जनामाथि शंका लागेर किटको प्रयोग गर्न लगायौं। ३ जनाले लागुऔषध प्रयोग गरेको पाएपछि नियन्त्रणमा लियौं।’
नियन्त्रणमा लिइएकाहरूमाथि थप अनुसन्धान गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गरिने उनले बताए।‘उनीहरूको पछिल्लो गतिविधि के छ। दुर्व्यवसनमै लागेको हो भने त्यही अनुसारको मुद्दा चल्छ,’ उनले भने।
डीएसपी थापाका अनुसार किट गर्भवती जाँच्ने किटजस्तै भएको बताए। ‘प्रेग्नेन्सी टेष्ट किटजस्तै हुन्छ। शंका लागेको व्यक्तिलाई नजिकैको शौचालयमा लगेर पिसाब फेर्न लगाउने अनि किटमा दुई थोपा हालेपछि रातो लाइन देखाउँछ,’ उनले भने, ‘विशेषगरी गाँजा खाएको छ भने धेरै देखाउँछ। आठ-दस दिनअघि लागुऔषध खाएको भए पनि देखाउँछ।’
आउँदा दिनहरूमा पनि यसको प्रयोग गरिने डीएसपी थापाले बताए। ‘भोलि-पर्सीदेखि ठूला गाडी, वयश्क, शंका लागेको व्यक्तिहरूमा चेक गर्छौं,’ उनले भने।त्यस्तै, होलीलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा बाक्लो रूपमै प्रहरी परिचालन गरिएको थियो ।बिहानैदेखि विभिन्न ठाउँमा ट्राफिक चेकिङ गरिएको थियो। ललितपुरमा मात्रै दिभरिमा ४ सय ३५ सवारीसाधनलाई कारबाही गरेको डीएसपी थापाले जानकारी दिए । १ सय ६२ सवारीसाधनलाई होल्ड गरिएको, ४ सय ९८ वटा सवारीसाधनलाई सम्झाइबुझाइ छोडेको र १३ जना मापसे गरी सवारी चलाउने पाएको हो।


















