प्रकाशित मिति -२०७६ बैशाख २ गते-
काठमाडौं । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।
भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो।
नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज मंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुईजनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको थियो। स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारले निर्णय गरेको छ। यस्तै अन्तराष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।
आजै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ।

















