काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनु जरुरी रहेको बताउनुभएको छ । शीतल निवासमा मंगलबार (आज) बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभएको हो ।
कोभिड–१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावबारे सवै जानकारी रहेको भन्दै उहाँले यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदान ठूलो रहेको पनि बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आपसी संवाद र छलफललाई निरन्तरता दिनुपर्नेमा राष्ट्रपतिले जोड दिएको जानकारी दिनुभयो । आफ्नो बंगलादेश भ्रमण बारेमा पनि राष्ट्रपतिले जानकारी गराउनुभएको केसीले बताउनुभयो ।बैठकमा देशको समसामयिक बिषयमा पनि केही नेताहरुले कुरा उठाएको अध्यक्ष केसीले बताउनुभयो । राष्ट्रपति भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
बैठकमा संसदमा रहेका सबै दल र पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइएपनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराइको उपस्थिति भने थिएन । हाल संसदमा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।




















