चैत-२२ गते सनिवार सिरहा । नेपाल, भारत दुवै देशमा लकडाउन रहेको छ । यस्तो बेला मानिसहरु हिड्न बन्देज छ । तर, सिरहाको गुलरिया सारश्वर सडक खण्डमा भारतबाट ल्याउँदै गरेको लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
लकडाउनका वेला भित्रीबाटो प्रयोग गरी लागुऔषधको कारोबार गर्ने दुई कारोबारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।
अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन बन्देज भएका वेला बिहीबार मोटरसाइकलमा आएका दुईजना प्रहरी देखेर भाग्ने क्रममा अत्तालिएर लडेपछि प्रहरीले सोधपुछ गर्दा उनीहरु लागुऔषध कारोबारी भएको पत्ता लागेको सिरहा प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो ।
सिराहा नगरपालिका– १२ स्थित सारश्वरमा बिहीबार प्रहरी चौकी बेलहाबाट खटिएको गस्ती टोलीले चेकजााँचको क्रममा स.३ प ३४५६ नम्बरको मोटरसाइकलमा दुईजना लागुऔषधसहित पक्राउ परेका हुन् ।
गस्तीमा रहेको प्रहरी देखेपछि भाग्ने क्रममा सारश्वर चोक पूर्व गुलरिया सारश्वर सडक खण्डमा बन्दै गरेको घरमा ठक्कर खाई मोटरसाइकल पल्टिन पुगेको थियो ।
प्रहरीले मोटरसाइकलमा सवारको खानतलासी लिँदा उनीहरूको साथबाट लागुऔषध फेला परेको थियो ।
प्रहरीले लागुऔषधसहित मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका– ८ बस्ने ३२ वर्षीय लालु खान, मिर्चैया नगरपालिका– ५ जिवाटोल बस्ने २९ वर्षीय उचित भनिने नागेन्द्र पासवानलाई पक्राउ गरेको छ ।
मोटरसाइकलको सिटको बीचभागमा लुकाइएको झोलामा एक सय एमएलको ४६ बोतल डाइलेक्स डिसी भेटिएपछि दुवैलाई नियन्त्रणमा लिई उपचारका लागि सिराहा अस्पताल लगिएको थियो । त्यहाँ उपचारपछि खानको अवस्था सामान्य रहेकाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको एसपी चतुर्बेदीले बताए ।
प्रहरीका अनुसार भाग्ने क्रममा घरमा ठोक्किएर लडेपछि दुवैजनाको हात, टाउको र छातीमा चोटपटक लागेको छ ।
घाइते दुवैलाई सिराहा अस्पतालमा उपचार गरिए पनि पासवानको अवस्था गम्भीर बनेपछि थप उचारका लागि प्रहरीको निगरानीमा उनकी आमा जमुनियादेवी पासवानको जिम्मा लगाई विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।

















