सिरहा । नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरीले कार्यालय सिरहाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा डिटाेल पानीले हात धुने व्यवस्था अनिवार्य गरेको छ । जिल्ला प्रहरी कार्यालय पुग्ने जो कोहीले डिटाेल पानीले हात सफा गरेपछि मात्र कार्यालय प्रवेश गर्न पाउने छन् । कार्यालयको गेटमा खटिएका प्रहरीले सेवाग्राहीका अलावा अन्य आगन्तुकहरुलाई सेनिटाइजर तथा डिटाेल पानीले हात सफा गर्न आग्रह गर्छन् । त्यसपछि मात्र कार्यालय प्रवेशकालागि इजाजत दिने गर्छन् ।
व्यक्तिगत सरसफाई र कोरोनाको जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले बताए । चतुर्बेदीले जिल्ला भरीमा कोरोना सम्वन्धि सचेतना र आवश्यक अन्य तयारी सहितका काम समेत थालिएको बताए । उनले बजार तथा सर्वसाधारणको बढी आउजाउ हुने स्थानमा सेनिटाइजरले हात सफा गर्ने तथा डिटाेल पानीले र साबुन पानीले हात धुने व्यवस्था मिलाउन लागिएको समेत बताए । जिल्ला प्रहरी कार्यालय सिरहाले आवश्यकता अनुसार हेल्प डेस्क समेतको प्रवन्ध मिलाउने जनाएको छ । एसपी चतुर्बेदीले कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिनुका सचेत र सजक रहन जिल्ला बासीमा आग्रह समेत गरेको छ ।

















