मापदण्ड मिचेर सार्वजनिक यातायात सञ्चालन
- काठमाडौं ,असोज ५ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
सरकारले सामाजिक दूरी कायम राखेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्ने पनि उल्लेख छ ।
मापदण्ड यस्तो भए पनि सार्वजनिक यातायातहरूले त्यसको पालना गरेका छैनन् । साविकभन्दा बढी भाडा असुल्दै आएका उपत्यकाका अधिकांश सार्वजनिक यातायातले कोरोनाको जोखिमप्रति पूर्ण बेवास्ता गर्दै मापदण्ड मिचेर सवारी सञ्चालन गर्दैै आएका छन् ।

भाडा पनि ताेकिएभन्दा बढी असुल्दै अाएका छन् । यातायात व्यवस्था विभागले चार किमीको भाडा रु १४ तोकेको छ । क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्दा ५० प्रतिशत बढाएर न्यूनतम् भाडा रु २१ हुन्छ । तर हाल त्यस्ता यातायातमा परिचालकले न्यूनतम भाडा रु २५ उठाइरहेका छन् । यातायात व्यवसायी न्यूनतम भाडा रु २५ बनाउने ध्याउन्नमा छन् । कोरोना महामारीका बेला भौतिक दूरी र सुरक्षाका उपाय भने अपनाएका छैनन् ।
सार्वजनिक यातायातले सामाजिक दूरी कायम गरे, नगरेलगायतको नियमन गर्ने जिम्मा सरकारले ट्राफिक प्रहरीलाई दिएको छ । सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै सार्वजनिक यातायातले सवारी सञ्चालन गरे पनि ट्राफिक प्रहरी भने सडकमा रमिते बनेर बस्ने गरेका छन् ।


















