- काठमाडौं ,भदौ २३ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
महानगरीय प्रहरी अपराध महाशाखाले एउटा ठूलो लागूऔषध कारोबार गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।
विशेष सुराकिको आधारमा कारोबारीले ना ३ ख ९८९ नम्बरको कन्टेनरमा अबैध लागूऔषध ओसार पसार गरी भक्तपुर नगरपालिका सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचना प्राप्त गरी गिरोहलाई लागूऔषधसहित पक्राउ गर्न सफल भएको हो ।
महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार गिरोहलाई रंगेहात पक्राउ गर्न महाशाखा तथा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले आज २३ गते विहान सल्लाघारी स्थित अरनिको राजमार्गको दक्षिण तर्फको किनारामा पक्राउ गर्न सफल भएको प्रवक्ता कार्कीले बताए ।
अप्रेशनमा गएको टोलीले कन्टेनर रोकी राखेको अवस्थामा विष्णु प्रधान र डम्बर बहादुर प्रधानसहित कन्टेनर जाँच गर्दा उक्त कन्टेनरको चालकको सिट मुनी रहेको जेब्रा झोला १ थान र चालकको संगैको सिट मुनी रहेको अर्को जेब्रा झोलामा लागूऔषध बरामद गरेको हो ।
लागूऔषध ओसारपसार र बिक्रिवितरणका लागि गाडीमै आएका सिन्धुपाल्चोक, बाह्रविसेका विष्णु प्रधान र डम्बर बहादुर प्रधानलाई भक्तपुरबाटै पक्राउ गरिएको हो । बेचबिखनमा संलग्न शंकर खड्कालाई बुढानिलकण्ठबाट पक्राउ गरिएको हो ।
गाडीमा लुकाई ल्याइएको लागूऔषधमा डाईजापाम – २९५० एम्पुल, नाईट्रोभेट –३००० एम्पुल, Promathazine- २९५० एम्पुल, Buprenorphine – १५०० एम्पुल र Noophin- १४०० एम्पुल बरामद गरिएको प्रवक्ता कार्कीले बताए ।
