धनगढी । जिल्ला कारागार कैलालीमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई अब हरेक तीन–तीन महिनामा अदली–बदली गर्ने व्यवस्था मिलाइने भएको छ ।

आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो ।
बैठकले कारागार सुरक्षामा देखिएका कमजोरी र दोहोरिँदा जोखिम कम गर्न सुरक्षाकर्मीको नियमित रोटेसनलाई प्रभावकारी उपायका रूपमा अघि सारेको हो ।हालै साउन २३ गते कारागारमा भएको भीषण झडपपछि सुरक्षा व्यवस्थामा सुधार ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न ११ निर्णयहरू गरेको छ ।
जसअन्तर्गत सुरक्षाकर्मीको अदली–बदली पनि एक महत्त्वपूर्ण कदम मानिएको छ । कारागारमा खटिने सुरक्षाकर्मीहरु कैदीबन्दीसँग मिलेको आरोप लाग्दै आएको छ ।कारागार व्यवस्थापनले कारागारमा लामो समयदेखि एकै ठाउँमा कार्यरत सुरक्षाकर्मीका कारण आउन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।
गत शुक्रबार राति कारागारभित्र कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र ४८ जना कैदीहरु घाइते भएका थिए । झडपमा धनगढी–४ का कैदी ३२ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो ।४८ जना घाइतेमध्ये एक गम्भीर अवस्थाका कैदीलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

















