धनुषा । भारतबाट अवैध रूपमा ल्याइएको तस्करीको सामान नियन्त्रणमा लिने क्रममा धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैंचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ ।

साउन २१ गते साँझ सवा ८ बजेतिर झडप भएको हो । भारतबाट ल्याइएका तस्करीका सामग्री नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले प्रयास गर्दा स्थानीयवासी र तस्कर समूह आक्रोशित बनेर ढुंगामुढा गरेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एसएलआरबाट चार राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
झडपपछि केही स्थानीयले तस्करीका सामग्री लुकाएको भए पनि प्रहरीले एउटा मोटरसाइकलसहित केही सामान बरामद गर्न सफल भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















