सिराहा । सिराहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीले नियमित जाँचका क्रममा हतियारसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डल रहेका छन्। ती तीनैजना एउटै मोटरसाइकलमा सवार थिए।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार, प्रहरीले शंका लागि मोटरसाइकल रोकेर चेकजाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको हो।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि मिर्चैया प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीले उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा सिरहा जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अघि बढाइने जनाएको छ।

















