मोरङ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार २०८४ सालसम्म निरन्तर रहने बताएका छन् ।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिए । कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पारे ।
नेता कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता भएन भने राजनीति धराप पर्ने बताए । उनले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राखे ।
एक प्रश्नको जवाफमा नेता डा. कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउँदै गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

















