लक्ष्मीपुर पतारी, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा मारेको फड्कोसँगै भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पनि मुख्य एजेण्डा बनाएको छ। गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले विकास निर्माणका कामलाई तीव्रता दिएको बताइरहँदा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले समेत विकासमा हुने अनियमिततामा शून्य सहनशीलता अपनाइने दृढता व्यक्त गरेका छन्।

गाउँपालिका उपाध्यक्ष अमरकला यादवले विकास निर्माणको काममा आफू कुनै पनि प्रकारको भ्रष्टाचार र अनियमितता हुन नदिने बताउनुभयो। उहाँले भन्नुभयो, “जनताको करबाट आएको एक-एक पैसाको सही सदुपयोग हुनुपर्छ। म आफैँ पनि भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्नँ। विकासको काम पारदर्शी र गुणस्तरीय हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं।” उहाँले विकास योजनाहरूको नियमित अनुगमन गरी गुणस्तर सुनिश्चित गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माणका लागि उल्लेख्य रकम छुट्याइएको जानकारी दिनुभयो। उहाँले गाउँपालिकाको समग्र विकासका लागि सन्तुलित र न्यायोचित ढंगले बजेट विनियोजन गरिएको बताउनुभयो।






प्रमुख प्रशासकीय अधिकृत सिंहले भन्नुभयो, “हामीले यस बजेटमा विकासका लागि पहिलेभन्दा धेरै रकम सुनिश्चित गरेका छौं। हाम्रो प्राथमिकता भनेको कुनै पनि वडा विकासको दृष्टिकोणले पछि नपरोस् भन्ने हो। त्यसैले, सबै वडाहरूमा एकरूपता कायम हुने गरी योजना र बजेट वितरण गरिएको छ, ताकि समग्र गाउँपालिकाको सन्तुलित विकास हुन सकोस्।”

अध्यक्ष ठाकुर, उपाध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत सिंहको साझा प्रतिबद्धताले लक्ष्मीपुर पतारीमा विकास निर्माणका कामले थप गति लिने र सुशासन पनि बलियो हुने स्थानीयले अपेक्षा गरेका छन्। जनप्रतिनिधि र कर्मचारीतन्त्रको यस्तो साझा संकल्पले गाउँपालिकालाई नमूना बनाउने अभियानमा बल पुगेको देखिन्छ।


















