काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाथीभरा केबुलकारमा सरकारको नेतृत्व गर्नेको ठूलै शेयर रहेको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) मोरङको कानेपोखरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले सरकारको नेतृत्व गर्नेकै लागनी भएको कारण जनता मारेर भएपनि केबलकार बनाइछाड्ने पक्षमा सरकार देखिएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘तपाईँहरुले कत्तिको थाहा पाउनु भएको छ, मैले त सुनेको छु– त्यो केबुलकारमा सरकारको नेतृत्व गर्नेको पनि ठूलै शेयर छ रे । त्यसकारण जनता मारेर भएपनि बनाइछाड्ने भन्ने मुर्खतातिर सरकार लागेको छ भन्ने देखिएको छ ।’
पाथिभरा (मुक्कुम्लुङ) को विषय सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा रहेको प्रचण्डले बताए । यसलाई सरकारले बल प्रयोगद्वारा हल गर्ने दुस्साहस गरेको खण्डमा त्यो दुर्भाग्य हुने प्रचण्डको चेतावनी छ । संवाद र समझदारीको माध्यमबाट सबैलाई मान्य हुने समाधान खोजिनुपर्ने उनले बताए ।
सरकार झनपछि झन बल प्रयोग गरेर आन्दोलनकारीहरुको टाउको फुटाएर समस्याको समाधान खोज्नेतिर गइरहेको बताउँदै प्रचण्डले अब माओवादी आन्दोलनकारीको पक्षमा उभिने छ र देशव्यापी आन्दोलनतिर जाने उद्घोष गरे । उनले भने, ‘त्यसलाई रोकेर संवाद र समझदारीबाट यो समस्याको समाधान गरियोस् । यदि त्यसो गरिएन भने मैले हिजो पनि भनेँ, आज पनि भन्छु– माओवादी आन्दोलनकारीको पक्षमा उभिने छ र देशव्यापी आन्दोलनतिर जानेछ ।’