काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी स्थगन गरेकोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । आइतबार विप्लवले एक विज्ञप्ति जारी गर्दै ट्रम्पलाई धन्यवाद दिएका हुन् । विप्वलवको पार्टी सुरु देखिनै एमसीसीको विरोध गर्दै आइरहेको छ ।

‘डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा एमसीसी कम्प्याक्ट पनि ९० दिनको लागि स्थगन भएको छ । एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यान्वयनको समयदेखि नै आम नेपाली जनताले देशको राष्ट्रिय स्वाधीनता र आफ्नो राजनीीतक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट सङ्घर्ष गर्दै आइरहेको छ । एमसीसी कम्प्याक्टले नेपाली जनताको सङ्घर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।
गत जनवरीमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा पदभार समालेपछि ट्रम्पले विदेशमा गरिने आर्थिक खर्च र सहायताको प्रभावकारिता एवम् निरन्तरताको विषयमा केन्द्रित भएर कार्यकारी आदेशमार्फत कटौती गरेका छन् । २० जनवरी २०२५ अर्थात, ७ माघ २०८१ मा वैदेशिक विकास सहायतालाई तीन महिना ९० दिन का लागि स्थगन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।