काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री नै संसदीय छानबिन समिति बनाउन नचाहेको बताए छन् ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन गृहमन्त्री रवि लामिछाने सकारात्मक हुँदा पनि प्रधानमन्त्रीले नै समिति गठन नगरेको दाबी गरे।
अध्यक्ष नेपालले भने,‘मैले डिटेलमा कुरा गर्न पाएको छैन । तर, सुनेसम्म स्वयं रवि लामिछानेजी पनि गठन छानबिन समिति गरौं न त, गठन गर्ने कुरामा कुनै आपत्ति छैन भन्दै हुनुहुन्छ । उहाँको भूमिका यसमा सुन्दाखेरि पोजेटिभ नै पाइराखेको छु, छानबिन गरौं । म दोषी छैन, कुनै प्रमाण छ भन देखाऊन्, सक्कली प्रमाण हुनुपर्यो भनेर उहाँले मै भएको ठाउँमा पनि प्रधानमन्त्रीसँगसँगै भन्दै हुनुहुन्थ्यो ।’
अध्यक्ष नेपालले सहकारी ठगीसम्बन्धी छानबिन गर्ने कुरामा गृहमन्त्री सकारात्मक नै भएको पाएको बताए ।
गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।
तर, समिति गठनकै विषयलाई लिएर सदन अवरुद्ध हुन नहुने अध्यक्ष नेपालले बताए।