काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् । उनी पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
८७ सदस्यीय प्रदेश सभामा महरा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई ४ सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको नेकपा एस र स्वतन्त्रका सांसदहरुको मत नपाए विश्वासको मतमा बहुमत पुक्ष्ने देखिदैन् । मुख्यमन्त्री महरालाई विश्वासको मत दिन साना दलले विभिन्न शर्त राखेका छन्।
त्यहाँ एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मन्त्री नपाउने भए विश्वासको मत दिन नसकिने शर्त अघि सारेका छन् । चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका महराले चैत २५ गते शपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।
मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र जिम्मेवारी प्रदान गर्ने तयारी रहेको छ । मुख्यमन्त्रीसँगै लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बनेका एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई कुनै जिम्मेवारी तोकिएको छैन ।