पोखरा । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीले पेश गरेको दाबी नेपाली कांग्रेसले असंवैधानिक भनेको छ। सभामुखले राजीनामा नदिइकन सरकार गठनमा समर्थन जनाएको भन्दै कांग्रेसले असंवैधानिक भनेको हो।
नेपाली कांग्रेस संसदीय दलले प्रदेश प्रमुखलाई असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगर्न ध्यानआर्षण गराएको छ।
कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेको नेतृत्वमा गएको टोलीले सभामुख स्वतन्त्र पद भएकाले सभामुखले समर्थन गर्न नमिल्ने भन्दै मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको हो।
‘प्रदेशसभाको प्रत्यक सदस्यहरूको फरक प्रायोजनका लागि लिइएको पूरानो हस्ताक्षर दुरुपयोग गरिएको भनी स्वयमः केही प्रदेशसभा सदस्यहरूले भनेको अवस्था छ। समर्थन गरिएको भनिएको हस्ताक्षरको आधिकारिक सनाखत बेगर मुख्यमन्त्रीको नियुक्ती आधिकारिक मान्न सकिँदैन, ‘ न्यौपानेले भने।
कोशी प्रदेशको नजिरलाई हेर्दासमेत सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्न नमिल्ने उनको तर्क छ।
नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल लोेकतान्त्रिक पार्टीका सांसद फणीन्द्र देवकोटाकोसमेत समर्थन नरहेको कांग्रेसको दाबी छ।