काठमाडौं । आज नेपालका पहाडी र हिमाली जिल्लामा हर्सोल्लाससहित होली पर्व मनाइँदै छ ।

पहाडी र हिमाली जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक(फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई(मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।
यस पर्वका अवसरमा आइतबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दस पाथी चामलको भात र एउटा राँगाको मासु खुवाइ सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भस्म भएकी, तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको दन्त्यकथा यो पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।