काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताहरूले न्यायका लागि संसद्को राज्यव्यवस्था तथा सुशासन समिति गुहारेका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिको तर्फबाट संयोजक किरण श्रेष्ठले पीडित निक्षेपकर्ताहरूको बचत रकम फिर्ता तथा दोषीमाथि कारबाहीको व्यवस्था मिलाइदिन भन्दै आज राज्यव्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका हुन् ।
संयोजक श्रेष्ठले न्यायको पहलका लागि सिंहदरबारस्थित समितिको कार्यकक्षमा पुगेर समितिका सभापति रामहरि खतिवडालाई निवेदन बुझाएको जानकारी दिए ।
निवेदनमा सूर्यदर्शन संस्थाले १८ हजार सात सय बचतकर्ताको एक अर्ब ४० करोड रुपैयाँ निक्षेप फिर्ता गर्नुपर्ने भए पनि दुई वर्षयता एक रुपैयाँ पनि फिर्ता पाउन नसकेको, न्यायका लागि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि ठगीमा संलग्न सबै पक्राउ नपरेको भन्दै सुशासनको कुरा गर्ने समितिसमक्ष न्याय खोज्न आइपुगेको उल्लेख छ ।
‘गितेन्द्रबाबु (जिबी) राई राईलगायत एउटा सानो समूहले हजारौँ पोखरेली जनताको करोडौँ रुपैयाँ हिनामिना गरी सबै बचतकर्तालाई अलपत्र पारेर फरार रहेका छन् । सडकदेखि सदनसम्म ठगीको चर्चा भइरहँदा र डिफ्युजन नोटिस जारी हुँदा पनि सूर्यदर्शन सहकारीका अन्य १४ जना प्रतिवादी पक्राउ पर्न सकेका छैनन्,’ निवेदनमा भनिएको छ, ‘यिनीहरूलाई हाम्रो कुन राज्यव्यवस्थाले संरक्षण दिइरहेको छ ? हामीलाई यसको जवाफ चाहियो साथै, यो प्रकरणमा संलग्न जोकोहीलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई बचतकर्ताको बचत फिर्ता हुने वातावरण मिलाइदिनुपर्याे ।’
निवेदनमा राईको समूहले नेपालका विभिन्न स्थानमा सञ्चालन गरेको सहकारीले लाखौँ बचतकर्तालाई पीडित बनाएको, यही समूहले लगानी गरेका विभिन्न मिडिया कम्पनीदेखि नेटवर्किङ कम्पनी बन्द हुन पुगेको उल्लेख छ ।
गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा आफूहरूको ३० करोड लगानी भएको देखिन्छ भन्दै उनीहरूले यस विषयमा सम्बन्धित व्यत्तिहरूले आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्नेमा मौन बसेको जिकिर गरेका छन् ।
पीडितहरूले पछिल्लो दुई वर्षदेखि आफूहरू न्यायको लडाइँमा रहेको भन्दै यो अवधिमा तीन–चारपटक सरकार परिवर्तन भइसक्दा पनि न्याय पाउन नसकेको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।