रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिक अवस्था मौसम झैँ परिवर्तन रहेको बताएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका नेपालले जिल्लाको सदरमुकाम गौरमा समाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति रौतहटले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मौसम परिवर्तनको ग्यारेन्टी नहुने र त्यस्तै नेपालको राजनीतिमा पपनि कुन बेला के हुन्छ भन्ने पत्तो नहुने अवस्था रहेको बताए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका मन्त्रीहरुको कार्यशैलीको कारण पुरानो गठबन्धन भत्किएको जिकिर गर्दै उनले मुलुकमा सुशासन, गणतन्त्रको स्थायीत्वको लागि नयाँ गठबन्धनको निर्माण भएको बताए ।
अध्यक्ष नेपालले नेकपा एमालेसँग एकता हुने कुरो अफवाह भएको उल्लेख गर्दै विचार, सिद्धान्त मिले सहकार्य गर्न सकिने जनाए । उनले नयाँ गाठबन्धन निर्माण भएको कारण प्रदेशमा सरकार परिवर्तन गर्ने विषयमा समस्या देखिएको बताए ।
अध्यक्ष नेपालले आफू पार्टीलाई बलियो बनाउनेतर्फ लागिपरेको भन्दै संघीयता विरोधी, गणतन्त्र विरोधी, संविधान विरोधी र विकास विरोधीसँग कहिल्यै पनि एकता र सहकार्य गर्न नसकिने बताए ।
उनले मुलुकमा रहेको बेरोजगारी समस्या समाधान, मिटर ब्याजीको समस्या समाधानको विषयमा गम्भीर भएर अघि बढ्नुपर्ने प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गरे ।