काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राजनीतिक बेइमानी नगरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको भन्दै त्यसको खण्डन गरेका हुन्। राजनीतिक प्रतिबद्धता र विकासप्रतिको छट्पटीको कारणले सोच, विचार गरेर नै नयाँ गठबन्धन बनाएको उनको भनाइ थियो।
‘यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुन्छ। आफुसँग हुँदा इमान हुने र अर्को सँग जाने बित्तिकै बेइमान हुने हुँदैन।’ उनले भने।
उनले संसदमा भएका दलहरुका बीचमा अविश्वास, आशंका र घृणा नगरी राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प हुँदाहुँदै आफूलाई प्रमाणित गर्ने चुनौती रोज्नु आफुप्रतिको जिम्मेवारी ठानेको उनको भनाइ थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !