काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व नयाँ गठबन्धनका नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो ।
प्रधानमन्त्री प्रचण्डले यसअघि सोमबार दिउँसो मौजुदा मन्त्रिपरिषद् फेरबदल गर्दै तीन सदस्यीय बिना विभागीय मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्री दाहालको सिफारिसमा नियुक्त भएका तीन मन्त्रीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
२०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि १३औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको छ । २०७९ को पुसदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भयो । २०८० सालको वैशाखदेखि फागुन २१ गते सोमबारसम्म ६ गरेर १३औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको हो ।
२०७९ पुस ११ गते गठन भएको मन्त्रिपरिषद् माघ ३, १४, २३, फागुन १४ र १६, चैतको १७ गते विस्तार भएको थियो । त्यसैगरी २०८० साल वैशाख ३, २१, २४ जेठ ९ गते फेरबदल भएको मन्त्रिपरिषद्ले जेठ १० गते पूर्णता पाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !