लुम्बिनी । लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बन भएका छन् । राप्रपाबाट कपिलवस्तु क्षेत्र नं. ३ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित यादवविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो ।
यादवमाथि कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको थियो ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरेको अवस्थामा मुद्धाको किनारा नलागेसम्मको लागि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको उल्लेख गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा उक्त ऐन अन्तर्गतको कसूरको आरोपको सम्बन्धमा कुनै व्यक्ति उपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसूर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिव कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न प्रचलित कानुन बमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ,’ भन्ने व्यवस्था छ ।
सोहि ऐनको दफा ३३ मा निजउपर दफा ३६ ले मुद्दा दायर भएकोमा त्यस्ता राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने उल्लेख छ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा ६ वटा कटान प्लटहरुको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको थियो । ६ वटा कटान प्लटहरुमा विभिन्न जातका ८०३ वटा रुखहरुमा छटान भएको थियो । जसमध्ये ८०१ वटा रुख काटिएका थिए ।काटिएको काठको नापजाँचको आधारमा ३५ हजार ७७८.१० क्युफिट काठ र ४९.२३ चट्टा दाउरा संकलन हुनुपर्नेमा त्यो नभई मिलेमतोमा नापजाँच मूल्यांकन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन संकलन भएको देखाएको पाइएको अख्तियारले जनाएको छ ।
यादव रुख कटानको ठेक्का स्वीकृत गर्दा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र वन ब्यवस्थापन समितीका संयोजक थिए । अख्तियारले यादव सहित उक्त काठ कटानको ठेक्का स्वीकृत गर्ने, ठेक्का लिने तथा कटान गर्ने समेत १९ जनाउपर भ्रष्टचार मुद्धा दायर गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !