काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले दर्ता भइसकेका कम्पनीहरूकोे पुँजी लगानीको विश्वसनीयता अभिवृद्धि गर्ने भन्दै कसिलो नीति लिएको छ । चालु आर्थिक वर्षबाट एक सय रुपैयाँमा कम्पनी दर्तासहित कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था बजेटले गरेको थियो ।

कम्पनी रजिष्ट्रार दिपककुमार पहाडीले सेवा प्रवाहलाई व्यवस्थित र मर्यादित बनाई प्रचलित कानुनको परिपालना गराउने, सेवा प्रवाहमा भएका द्विविधा तथा अस्पष्टतालाई हटाई सेवा प्रवाहमा एकरुपता ल्याउन नयाँ व्यवस्था गरेको बताएका छन् ।
नयाँ व्यवस्थासँगै सेयर धनीले कम्पनीलाई सेयर वापतको रकम चुक्ता गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत चुक्ता गरेको हुनु पर्ने व्यवस्था छ । यो भन्दाअघि सेयरधनीले सेयर वापतको रकम कम्पनीको खातामा राखे नराखेको सम्बन्धमा प्रमाण पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था थिएन् । कम्पनीको पुँजी कागजमा मात्र सीमित नराखी खातामा जम्मा गर्नै पर्ने व्यवस्थाको लागि नयाँ व्यवस्था गरिएको हो ।
रजिष्ट्रारको कार्यालयले सेयर किनवेच, सेयर बाँडफाँड, सेयर लगत, पुँजी वृद्धि एवं वकसपत्रद्धारा हक हस्तान्तरण जस्ता आर्थिक कारोबार जोडिएका क्रियाकलापहरूमा पनि नयाँ व्यवस्था गरिएको छ । योभन्दा अघि जारी रहेको अभिलेख स्वीकार गर्दा गरी आएको कार्य प्रक्रियामा परिमार्जन गरी नयाँ कार्य ढाँचा तर्जुमा गरिएको हो ।
कुनै दुई प्राकृतिक व्यक्तिहरूबीच भएको सेयर खरीद बिक्रीको हकमा प्रचलित कानुन वमोजिम कुनै व्यक्तिले १० लाखभन्दा कमको कारोबार नगर्दै लेनदेन गर्न सक्ने प्रावधान रहेकाले यसमा भने बैंक स्टेटमेन्ट पेश नभएको अवस्थामा पनि अभिलेख स्वीकार गरिने जनाइएको छ । तर, कुनै कम्पनी संलग्न भई गरेको खरिद बिक्रीमा भने स्टेटमेन्ट अनिवार्य गरिएको छ । चालु आवको भदौ १८ पछि स्थापना भएका कम्पनीहरूले प्रथम वार्षिक साधारण सभा गर्नुभन्दा अगाडि अनिवार्य रूपमा सेयर बाँडफाँड गरी कबुल गरेको सेयर रकमको पुरा वा आंशिक रकम चुक्ता गरी सेयर लगत अभिलेख गराइने भएको छ । यसरी सेयर लगत प्रमाणित गरी लगे पश्चात् मात्र कम्पनी अद्यावधिकगायत कम्पनी प्रशासन सम्बन्धी अन्य काम कारबाही गर्नुपर्ने उल्लेख छ ।
कम्पनीको २०७३/७४ भन्दापछिको लेखापरीक्षण प्रतिवेदनमा चुक्ता पुँजी उल्लेख भएको खण्डमा सो बराबरको चुक्ता प्रमाण पेश गरी सेयर लगत अभिलेख गरेर मात्र कम्पनी प्रशासन सम्बन्धी अन्य कागजातको अभिलेख स्वीकार गरिने नयाँ व्यवस्था कार्यालयले गरेको छ । यस्तै, कम्पनीको कुनै सेयरधनीले सेयर बापतको रकम कम्पनीको बैंक खातामा जम्मा गर्दा सेयर कल गरेको मितिदेखि सेयर बाँडफाँड गरेको मितिभित्र जम्मा गर्नुपर्ने प्रावधान रहेकोले सोही अवधिको स्टेटमेन्टमा चुक्ता प्रमाणको लागि ग्राह्य हुने जनाइएको छ ।
कम्पनी स्थापना गर्दाका बखत सेयरधनीले आफूले कबुल गरेको सेयर वा जगेडा सेयर खरिद बापतको रकम चुक्ता गर्दा वा सेयर खरिद बिक्रीको कारोबारमा विक्रेतालाई सेयर रकम भुक्तानी गर्दा बैंक स्टेटमेन्टमा सम्बन्धित बैंकको छापसहित प्रमाणित भएको स्टेटमेन्ट पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।
त्यसको लागि नाता प्रमाणितबाट खुल्ने एकाघर संगोलको परिवारको सदस्यबीच भएको खरिद बिक्रीको हकमा विद्युतीय ट्रान्फरमार्फत भुक्तानी भई सम्बन्धित बैंकबाट सिस्टम जेनेरेटेड भई चुक्ता प्रमाणलाई पनि स्वीकार गर्न सकिने उल्लेख छ । कम्पनीको बैंक खातामा पटक पटक रकम जम्मा भएको र छोटो अवधिमा खाताबाट उक्त रकम झिकिएको अवस्थामा कारण खुलाउन अनिवार्य गरिएको छ । सेयर लगत जारी गर्दा कम्पनीको प्रकृति, रकम राखिएको र झिकिएको अवधि सेयरधनीहरूले चुक्ता गर्न कवोल गरेको पुँजीलगायतको अध्ययन गरिने उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !