काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदैछ । गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ । गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ ।
यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो । आज राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्याधिवास, शर्कराधिवास, फलाधिवास, पुष्पाधिवास, मध्याधिवास र शड्ढयाधिवास भई सम्पन्न हुनेछ ।
बुधबार राति क्रेनको सहायताले रामललाको मूर्ति राममन्दिर परिसरमा ल्याएर बिहीबार मूर्तिलाई गर्भगृहमा राखिएको हो । यसैबीच अयोध्यामा बनाइएको भव्य राममन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा कार्यक्रममा मन्दिर ट्रस्टले ७ हजारभन्दा बढीलाई सहभागी हुन आमन्त्रण गरेको छ ।जसमा क्रिकेट हस्ती सचिन तेन्दुलकर र विराट कोहली, बलिउड सुपरस्टार अमिताभ बच्चनलगायत छन् । उद्योगपति मुकेश अम्बानी, गौतम अडानी, रतन टाटालगायतलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
मन्दिर उद्घाटनको भव्य समारोहका लागि सहर सजाइएको छ । प्राणप्रतिष्ठाको मुख्य ‘यजमान’ प्रधानमन्त्री नरेन्द्र मोदी हुनुहुनेछ । विगत ७० वर्षदेखि टेन्टमा राखेर पूजा गरिँदै आएको भगवान् रामको विद्यमान मूर्तिलाई पनि नयाँ मन्दिरको गर्भगृहमा राखिने मन्दिर ट्रस्टले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !