काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने निकै ठूलो जिम्मेवारी आफ्नो काँधमा रहेको महशुस गरेको बताएका छन् ।
आज (सोमबार) नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीको आयोजनामा शुरु भएको अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम– २०८० लाई सम्बोधन गर्दै उनले सिंहदरबारको अधिकार गाउँ–गाउँमा र घरघरमा पुर्याउने सबैभन्दा बढि संकल्प आफ्नो र आफू नेतृत्वको पार्टी नेकपा (माओवादी केन्द्र) को भएको बताएका हुन् । उनले आफ्नो नेतृत्वमा संघीय निजामति ऐन, प्रहरी समायोजन ऐन र अन्य आवश्यक ऐनहरु बनेन् भने अरुको नेतृत्वमा बन्दैन की भन्ने चिन्ता रहेको बताए ।
‘मेरो नेतृत्वमा संघीय निजामती ऐन बनेन्, प्रहरी समायोजन ऐन कार्यान्वयन भएन या संघीय शिक्षा ऐन कार्यान्वयन भएन, संघीय प्रहरी ऐन अगाडि बढेन भने मलाई डर छ अरुको नेतृत्वमा हुँदैन की ? मेरो काँधमा निकै ठूलो जिम्मेवारी छ, नेपाली जनतालाई अधिकार सम्पन्न गराउने । हामीले सिंहदरबारको अधिकार गाउँ–गाउँमा, घरघरमा पुर्याउने भनेर संकल्प लिएका छौं ।’ उनले भने, ‘त्यो संकल्प अलि बढि मेरो छ भन्ने मैले महशुस गरेको छु । मैले नेतृत्व गरेको पार्टीको छ र हामी गठबन्धनको छ । हिजो १२ बुँदे समझदारी र शान्ति सम्झौतमा सहभागी सबै राजनीतिक दल प्रतिपक्षमा भएपनि सत्तामा भएपनि सबैको छ । यसलाई गम्भीर रुपले महशुुस गरेर म अगाडि बढिराखेको छु ।’
तेस्रो पटक सरकारको नेतृत्व लिँदैगर्दा अर्थतन्त्र निकै त्रासदीपूर्ण र चुनैतिपूर्ण ठाउँमा भएपनि अहिले क्रमशः सकारात्मक दिशातिर अगाडि बढेको उनको भनाइ छ । उनले अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको बताए । उनले अहिले विदेशी मुद्राको सञ्चिती सबैभन्दा धेरै रहेको र पर्यटन आगमनमा पनि नेपालको इतिहासमै सबैभन्दा धेरै पर्यटक आउने रेकर्ड यही वर्षभित्र बनेको बताए । साथै, बैंकको व्याजदरमा कटौति हुँदै गएको, सहकारी र लघुवित्तको समस्या विस्तारै सम्बोधन हुन थालेको, भुक्तानी सन्तुलन र रेमिट्यान्समा बृद्धिका साथै शिथिल भएको उद्योगहरु विस्तारै चलायमान हुन थालेको उनले बताए ।
‘मैले तेस्रो पटक सरकारको नेतृत्व गरेको एक वर्षको अवधि पूरा भएको छ । जतिबेला मैले सरकारको नेतृत्व लिएका थिएँ, यहाँहरुलाई थाहा छ, त्यतिबेला नेपालको अर्थतन्त्र निकै त्रासदीपूर्ण र चुनैतिपूर्ण ठाउँमा थियो ।’ उनले भने, ‘मानिसहरुमा अब नेपालको अर्थतन्त्र डुब्यो भन्ने आतंक थियो । निर्वाचनबाट आएको त्रिशंकु संसद्ले राजनीतिक स्थायित्व दिने हो की होईन भन्ने निकै ठूलो संशय आम मानिस र राजनीतिक बृत्तमा थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामू विद्यामान चुनौति सम्बोधन हुँदै क्रमशः सकारात्मक दिशातिर अगाडि बढेको छ ।’
विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संघ÷संस्थाहरुले गत हप्ता नेपालको अर्थतन्त्र विश्वको अर्थतन्त्रको तुलनामा राम्रो सुधार भएको भनेर निश्कर्ष निकालेको उनले बताए । उनले एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल भएको बताए । श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गरिएको र लाखौं नेपाली श्रमिकहरु यसमा आवद्ध हुने क्रम जारी रहेको उनले बताए ।
देशभरका सरकारी अस्पतालका १० प्रतिशत बेड गरिब, असहाय र विपन्न वर्गका लागि छुट्याउने काम वर्तमान सरकारले गरेको उनले बताए । सुशासनको क्षेत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, अवैध सुन तस्करी प्रकरणको छानविन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी गराए । साथै, सरकारले एक वर्षको लाखों नागरिकता विहीनको समस्या समाधान, विद्यालयहरुमा समयमै पाठ्यपुस्तक पुयाइएको, विश्वविद्यालयहरुमा सुधारको पहल गरिरहेको उनले बताए ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा यो अवधिमा गुणात्मक प्रगति भएको र नेपालको प्रभाव विश्वमा विकास भएको उनले बताए । साथै, यति हुँदाहुँदै पनि निराशा बाँकीनै रहेको बताए । उनले आफ्नै कार्यशैलीबाट सरकारलाई सुधारको बाटोमा लाने प्रयास गरिरहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !