काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गर्ने भएका छन् । यसअघि नेकपा (एमाले) लाई पनि साथै लिएर राष्ट्रिय सभा निर्वाचनमा जानेबारे व्यापक छलफल भएपनि अन्ततः एमालेबाहेकको गठबन्धन बन्ने भएको हो ।
एमालेले राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन आग्रह गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलको बैठकमा ब्रिफिङ गरेका थिए । एमालेलाई पनि गठबन्धनमा सहभागी गराउने विषयमा गठबन्धन दलबीच लामो छलफल भएपनि अन्ततः एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएपछि गठबन्धन दलबीचनै सिट बाँडफाँड हुने भएको हो । गठबन्धनमा रहेका दलहरुले कति सिट पाउने भन्ने बारेमा निर्णय भने भइसकेको छैन ।
सिट बाँडफाँडलाई लिएर आज बेलुका ५ बजे पुनः बैठक बस्नेछ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सिट बाँडफाँडबारे निर्णयमा पुग्न बेलुका ५ बजे बैठक बोलाइएको बताए । गठबन्धन दलबीच आज भागबण्डा टुङ्गिने उनको भनाइ छ ।
आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन तोकिएको छ । गठबन्धन दलसँग कुरा नमिलेपछि एमालेले भने १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । सत्तारुढ दलबीच गठबन्धन हुँदा १९ वटै सिटमा साझा उम्मेदवारहरु विजयी हुने निश्चित छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !