काठमाडौं । सर्लाहीको बरहथवामा शुक्रबार सुरक्षाकर्मीको गोलीबाट युवक मारिएकोप्रति नेपाली कांग्रेसले दुःख प्रकट गरेको छ । बरहथवा–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने कि नगरअस्पताल भन्ने विषयमा शुक्रबार दिउँसो दुई पक्षबीच विवाद हुँदा भएको झडपका क्रममा प्रहरीको गोलीले स्थानीय युवा जयशंकर साह मारिएका थिए ।
सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस केन्द्रीय कार्यालयले मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारमा समवेदना व्यक्त गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाउन पनि माग गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।’
यसका साथै कांग्रेसले आफ्ना अधिकारको विषय उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न आम नागरिकलाई अपिल गरेको छ भने प्रदर्शनका क्रममा सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन पनि आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !