काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला घटनास्थल पुगेपछि बालकुमारी घटनाले नयाँ मोड लिएको जवाफ दिएका छन् ।
सोमबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले मन्त्री ज्वाला गएपछि घटनाले नयाँ मोड लिएको बताए ।
‘मन्त्रीज्यू पार्टीको कार्यक्रममा निस्कनुभएको रहेछ। त्यही बाटो भएर आउनुभएको थियो। त्यो बाटोबाट मन्त्रीज्यू किन आउनुभएको होला ? ’उनले भने, ‘यो घटनालाई अर्को मोडतर्फ लैजान यसले उत्प्रेरकको भूमिका खेलेको छ। त्योअघि प्रहरीले लाठी चार्ज, अश्रु ग्यासलगायत मात्रै गरेको थियो। मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ ।’
कोरियाली भाषा परीक्षामा सहभागी हुन नपाएको विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको मृत्यु भएको थियो । घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सरकारी गाडीमा आगजनी भएको थियो ।
गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए । सरकारले आजै उक्त घटनाबारे छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !