जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जारी रहेको कार्यकालमा खासै उपलव्धीमुलक कार्य गर्न नसके पनि आजभोलि आलोचना सुन्नै नसकी आलोचना गर्नेमाथि जाइलाग्ने मनिस्थिति बनाएको देखिएको छ । पोस्टर च्यात्नेदेखि लिएर उनको विरुद्धमा समाजिक सञ्जालमा स्टाट्स लेख्नेमाथि तुरन्त पक्राउ गर्न लगाएर कारबाही गराउनेसम्मको हरकतका कारण मुख्यमन्त्री अहिले आफ्नो कामले प्रसिद्धी पाउनुभन्दा क्रियाकलापले मधेस प्रदेशमा अलोकप्रिय बन्दैछन् ।
जनप्रतिनिधिले गर्दै आएको क्रियाकलापमाथि बोल्न पाउने अधिकारमा धावा बोल्दै मुख्यमन्त्री यादवले जनकपुरधामस्थित एक स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूलाई गाली गर्नेलाई प्रहरीमा थुनाएर कारबाही गर्ने चेतावनीसमेत दिएका थिए । उनले अन्तर्वार्तामा आफ्नो नम्बर सार्वजनिक गर्दै भनेका थिए, ‘कुनै किसिमको पार्टीगत र पूर्वाग्राही हिसाबले कुनै पनि सामाजिक सञ्जालमा मेरो विरोधमा गाली गरे वा लेखेमा त्यस्तालाई जनकपुरधाममा मात्रै होइन, दुनियाँको कुनै पनि कुनामा भए पनि कानुनी व्यवस्थाअनुसार मुद्दा दिई थुनामा रखाएर कारबाही गर्छु ।’ उनले बोलेको सो भिडियो केही दिन पहिले सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
मुख्यमन्त्री यादवको यस्तो धम्कीपूर्ण भाषाले मधेस प्रदेशवासी आश्चर्यचकित बनेका छन् । नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष अनिल मिश्रले मुख्यमन्त्रीको यस किसिमको भाषाले उनी आलोचनाबाट डराएको हुन सक्ने बताए । ‘कतै न कतै मधेस प्रदेशमा विहारको राजनीति हावी हुँदै गएको देखिन्छ,’ उनले भने, ‘जनताले जनप्रतिनिधिको कार्यप्रति आलोचना गर्न सक्ने, राय सुझाव दिन सक्ने अधिकारलाई दबाउन खोज्नु मधेसमा पनि राणाशासान अनुभूति गराउन खोजेको देखिन्छ ।’
मधेस आन्दोलनका अगुवा तथा आयुर्वेद चिकित्सक डा.अरुण झाले मुख्यमन्त्रीको विरोधमा सामाजिक सञ्जालमा लेखेपछि मुख्यमन्त्री कार्यालयले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । हिन्दू अभियन्ता सहितका जनकपुरधामका स्थानीय युवाहरूको दबाबमा प्रहरीले उनलाई रिहा गरे । मधेस प्रदेशको सर्लाही मलंगवामा दुई समुदायबीच तनाव चलिरहेको बेला डा. झाले मुख्यमन्त्री यादवले बाराको एक कार्यक्रममा सामाजिक सद्भाव बिगार्नेलाई गोली हान्ने अभिव्यक्ति दिएको कोड गर्दै कालोमोसो दल्ने भन्ने स्टाटस लेखेका थिए । सोही स्टाटसलाई आधार बनाएर मुख्यमन्त्री कार्यालयले झाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । झाले फेसबुकमा ‘मलंगवामा भएको घटनाका दोषीलाई कारबाही÷गोली हान्नुस् मुख्यमन्त्री सरोज यादव ज्यू, नत्र हामी छिट्टै तपाईंलाई कालोमोसो दल्छौँ’, लेखेका थिए ।
झालाई पक्राउ गरेपछि चौतर्फी आलोचना भएको थियो । लोकतन्त्रमा वाक स्वतन्त्रतामाथि मुख्यमन्त्रीले प्रहार गर्न थालेको टीकाटिप्पणीसहित सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि मुख्यमन्त्री यादवकै आदेशमा उनलाई रिहा गरिएको थियो । त्यसैगरी जानकी मन्दिरमा राजनीतिक व्यक्तिको ब्यानर, पर्चा पम्पलेट नहुनुपर्ने भन्दै मधेस आन्दोलनका अगुवा तथा मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रको अगुवाइमा जानकी मन्दिरमा लगाइएको ठुलो पोस्टरलाई हटाउन लगाइएको थियो ।
उक्त पोस्टर हटाएको समाचार बाहिरिएपछि मुख्यमन्त्री यादव जंगिएका थिए । उनले तुरुन्त जिल्ला प्रहरी कार्यालय धनुषामा फोन गरेर मिश्रलाई पक्राउ गर्न लगाएका थिए । पछि मिश्रको रिहाइ गर्न भएको चौतर्फी दबाब थेग्न नसकी उनको रिहाइ गराएको थियो । हुनत वाक स्वतन्त्रताको विषयमा राजनीतिक दलका प्रतिनिधिहरूको राय विचार बाँझिने गर्छ । मुख्यमन्त्रीले गरेको उक्त हर्कत र वाक स्वतन्त्रताको दुरुपयोगप्रति दलका नेताहरूले पनि आलोचना गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय महासचिव परमेश्वर साहले मुख्यमन्त्री मधेस प्रदेशको अभिभावक रहेको र मुख्यमन्त्री यादवको भूमिका अभिभावकजस्तै हुनुपर्ने बताउँदै उनको अभिव्यक्तिलाई राम्रो त पक्कै मान्न सकिन्न तर पनि कसैले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग पनि गर्न नहुने बताए । उनले भने, ‘आलोचना गर्ने सबैको अधिकार छ, आलोचनाबाट मुख्यमन्त्रीज्यू डराउनु हँुदैन तर, आलोचनाको नाममा व्यक्तिगत चरित्र हत्या गर्ने किसिमको शब्द सकैले प्रयोग गर्नु हुँदैन । सामाजिक सञ्जाल प्रयोग गर्नेले सीमामा रहेर लेख्नुपर्छ ।’
मुख्यमन्त्री यादवको कार्यकालको उपलव्धीका बारेमा उनले मुख्यमन्त्री यादवले आफ्नो कार्यकालको १०÷११ महिनाको अन्तरालमा अपेक्षा अनुसारको काम गर्न सकेनन् । मुख्यमन्त्रीले आफ्नो कार्यकालामा अहिलेसम्म विकास निमार्णदेखि लिएर शान्ति सुरक्षाको विषयमा कुनै उल्लेखे कार्य गर्न नसकेको बताउँदै मधेस प्रदेशका जनताले सोचे अनुरूपको कार्यमा मुख्यमन्त्रीजी सफल हुन नसकेको टिप्पणी गरे ।
मलंगवामा भएको लागातारको दुई पक्षबीचको विवादमा समेत मुख्यमन्त्री यादवले समन्वयसमेत गर्न नसकेपछि मधेसी जनता उनको विषयमा सशंकित देखिएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१६ का रणधीर झाले भने, ‘मुख्यमन्त्रीले मधेस प्रदेशमा केही दिन यता देखिएको विकृतिलाई निर्मुल बनाउनका लागि आफैँले पहलकदमी लिनुपर्ने थियो, कमसेकम अभिभावकत्वको जिम्मा लिएर दोषीलाई कानुनअनुसार कारबाही गराएको भए उनको जयजय हुन्थ्यो । तर, यस्तो भएन यतिसम्मकी मुख्यमन्त्री यादवले दुईपक्ष बीचको विवादलाई साम्य पार्न चुसम्म बोलेनन्, यो मुख्यमन्त्रीको असफलता हो’, उनले भने । स्थानीय शैलेन्द्र यादवले भने, ‘यो भन्दा राम्रो मुख्यमन्त्रीको रूपमा लालबाबु राउत नै थिए, कमसेकम लडाउने बझाउने, कारवाही गराउने जस्ता काम त गर्दैनन् थिए ।’
मधेस प्रदेशका दोस्रो मुख्यमन्त्रीको रूपमा रहेका सरोजकुमार यादव यसभन्दा पहिले सभामुख थिए । लोकतान्त्रिक समाजवादी पार्टीका नेता रहेका उनी जनता समाजवादी पार्टीमा प्रवेश गरी बारा (ख)बाट निर्वाचन जितेर मुख्यमन्त्री बन्ने अवसर पाए । मुख्यमन्त्रीको रूपमा सपथ लिँदा मधेसमा भ्रष्टाचार नगर्ने र गर्न नदिने अभिव्यक्ति दिएका थिए उनले । तर, कार्यकालको एक वर्ष हुन लाग्दा पनि खासै उपलव्धीमूलक कार्य गर्न सकेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !