काठमाडौं । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको सेयर खरिदबिक्रीको विषयमा छलफल चल्दा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारसमेत यसमा संलग्न छ कि छैन भन्ने प्रश्न गरेका छन् । बैठकमा अधिकांश सदस्यहरूले एनसेलबारे प्रश्न गर्दा प्रधानमन्त्री तानवमा देखिन्थे ।
प्रधानमन्त्री दाहाल र सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा उपस्थित राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सञ्चारमन्त्री र प्रधानमन्त्रीले एनसेल सेयर खरिदबिक्रीबारे धारणा राखेपछि सांसदहरूले बोलिरहेका छन् ।सांसदहरूले प्रश्न गर्ने क्रममा प्रधानमन्त्रीको परिवारका सदस्य नै जोडिएको कुरा के हो भनेर उठाएका हुन् । सत्तारूढ कांग्रेस सांसद अजयकुमार चौरसियाले एनसेलको खरिद र बिक्रीको मूल्यमा ठूलो अन्तर रहेको बताए । उनले प्रश्न गरे, ‘एनसेल खरिदबिक्रीका धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ, छानबिन होस् ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एनसेल प्रकरणमा करछली गरेको कुरा लुकाउने व्यक्तिलाई नै किन संयोजक बनाएको भन्दै प्रश्न गरेका थिए । सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काण्ड हुने बित्तिकै कारबाही नगरेर किन छानबिन समिति बनाएको भन्दै प्रश्न तेस्र्याए ।
उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने– दूरसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकारभित्र रहेर कारबाही गर्ने होइन र ? हाम्रा निकायलाई किन निकम्मा बनाइरहनुभएको छ ? कर तिर्नुपर्छ भन्ने भन्ने सिकाउने हो कि होइन ? प्रणाली बनाउनेतिर ध्यान दिएनौँ भने कोल्याप्सको बाटोमा जान्छौँ । प्रधानमन्त्रीलाई गरौँ भने लाखौँ प्रश्न छन् ।
उनले सञ्चार मन्त्रालय अन्तर्गतको प्राधिकरणले गर्ने कारबाही कसले रोक्यो ? भन्दै प्रश्न गरे । उनले थपे – तत्कालीन अर्थमन्त्रीले नै किन्नेले होइन बेच्नेले कर तिर्नुपर्छ भन्नुभएको थियो । नियामक निकाय प्राधिकरणलाई के भएको हो ? आएका प्रश्न अनुत्तरित हुनुहुँदैन । महालेखाको ५५औँ प्रतिवेदनमा महालेखाको करछली लुकाइएको छ । त्यसै महालेखापरीक्षकलाई किन छानबिन समितिको संयोजक बनाइयो ? एनसेलमा सधैँभरि कानुनलाई झुक्याउने काम भएको छ । कागजमा नेपाली स्वामित्व देखाउने कार्य भएको छ । प्रधानमन्त्रीको आशीर्वादले चल्ने होइन । आदेश कार्यान्वयन नभएको भनेर त बेलाबेला बोलिरहनुभएकै छ त । ऐनमा भएका अफ्ट्यारालाई सुधार गर्न प्रतिबद्ध हुनुहुन्छ कि नाइँ ? भन्दै प्रश्नै प्रश्न गरेका थिए् । २०८६ भदौ १५ अगाडि मात्रै सेयर खरिदबिक्री गर्न पाइने रहेछ । कानुनमा टेकेर उसले पाउने रहेछ । यो कमजोरलाई सच्चाउने कि नसच्याउने ?
उनले भने – तपाईं प्रधानमन्त्री भएको एक वर्ष भयो ? तपाइले गरेको न्यूनतम साझा कार्यक्रममा गरेको प्रतिबद्धता कहाँ पुग्यो ? मन्त्रिपरिषद्को सम्पत्ति विवरण किन लुकाइएको हो ? मन्त्रिपरिषद् बैठकले नै सम्पत्ति विवरण सार्वजनिक गर्ने भनेर मन्त्रिपरिषद् बैठकले नै गरिसकेको छ । किन त्यो कार्यान्वयन नगर्नुभएको हो ?
कांग्रेसकै सांसद अम्बिका बस्नेतले एनसेल खरिदबिक्रीमा नेताको परिवार जोडिएको कुरो सार्वजनिक भइरहेकाले त्यस तहबाट पनि वास्तविकता छानबिन हुनुपर्ने बताइन् । ‘सुशासन कायम गररेर आर्थिक समृद्धिमा अघि बढ्नुपर्ने अवस्थामा एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको छ । यो प्रकरण नेताको परिवारसँग जोडिन्छ । यसमा कति सत्य होला ?’
प्रधानमन्त्रीको परिवारसँग जोडिएपछि गणतन्त्रमाथि प्रहार भयो भनेर बचाउ गर्ने कि छानबिन गर्ने भनेर कांग्रेस सांसद ईश्वरी न्यौपानेले बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीको परिवार पनि जोडिएको छ भन्ने सार्वजनिक भइरहेको । अब यसलाई गणतन्त्रमाथिको प्रहार वा राम्रो काम गर्दागर्दै पनि यस्तो भएको भन्ने हो कि !,’ उनले भनिन् । छानबिन समितिले ढाकछोप गर्छ भन्ने प्रश्न उठेकोतर्फ ध्यान दिएर राज्यका निकायहरूले नै उचित छानबिन गर्नुपर्ने उनको माग थियो ।
एनसेल खरिदबिक्रीका क्रममा प्रसस्त नाफा कमाउँदा पनि नाफा नभएको भन्ने दाग नेपाललाई लगाएको तर्फ पनि ख्याल गर्न पनि सांसद न्यौपानेले आग्रह गरे । प्रमुख प्रतिपक्ष एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले एनसेल खरिदका क्रममा प्रधानमन्त्रीको परिवारलाई जोडिएको विषयमा प्रधानमन्त्री दाहालसँग जिज्ञासा राखेका थिए । उनले प्रधानमन्त्रीको परिवारसँगै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई पनि एनसेल खरिदबिक्रीको विषयसँग जोडिएकाले गम्भीर बन्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा चौधरीले एनसेल खरिदबिक्री प्रकरणमा प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको छोरालाई जोडिएको विषयलाई पनि ख्याल गर्नुपर्ने बताइन् । उनले यस विषयमा छानबिन हुनुपर्ने धारणा राखेकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भने एनसेलको सेयर खरिदबिक्रीका क्रममा विदेशमा भएका गतिविधिमा अनुसन्धानबाट कानुनविपरीत पाइए हदैसम्म कारबाही हुने प्रतिबद्धता जनाएका छन् । ‘एनसेल सेयर खरिद–बिक्री कानुनविपरीत पाइए हदैसम्म कारबाही हुन्छ’ प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीका क्रममा कानुनविपरीत गतिविधि भएको पाइएकाले छानबिन समिति गठन गरिएको बताए । छानबिन समितिबाट देखिएका निष्कर्षका आधारमा सरकारले हदैसम्मको कारबाही गर्ने पनि स्पष्ट पारे ।
‘प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम चालिन्छ । एनसेल खरिदबिक्रीमा कहीँ न कहीँ केही न केही भएको शंका लागेकोले छानबिन गरिएको हो । दोषी भए हदैसम्म कारबाही हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन भएको र करछलीको कुरा समाचारमा आएपछि चासो लागेर छानबिनमा लागेको बताए । उनले छानबिन समिति कुनै पनि निकायलाई ओभरल्याप गर्नका लागि गठन नगरिएको स्पष्ट पारे । उनले दूरसञचार प्राधिकरणका अधिकारीहरूसँगकै सल्लाहमा छानबिन समिति गठन गरिएको र एक महिनाको कार्यादेश दिइएको पनि बताए । समिति गठन कर मात्रै नभई विदेशी लगानी ल्याउने र राजस्वमा पर्ने विषयमा पनि सुझाव आउने बताए ।
उनले एनसेलको वैदेशिक लगानी सेयर खरिद बिक्री, कर राजस्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताए । उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘एनसेलको वैदेशिक लगानी सेयर खरिद बिक्री, कर राजस्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन समेतको कार्य गरिरहेका छौँ । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।’
समितिमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा पनि उपस्थित थिइन् । उनले एनसेल खरिदबिक्रीबारे पछिल्लो समय सरकारी निकायले कुनै पनि प्रक्रिया अगाडि नबढाएको जानकारी दिएकी छन् । मन्त्री शर्माले तत्कालका लागि एनसेल खरिद बिक्री रोकिएको बताएकी छिन् । राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले पूर्व स्वीकृति नलिई सेयर खरिद बिक्री गरेको थाहा पाएपछि मन्त्री परिषद् बैठकले एनसेलको खरिद बिक्री रोकेको जानकारी दिइन् ।
बैठकमा उनले भनिन्, ‘एनसेल आजियाटाले ८० प्रतिशत सेयर विदेशमा खरिद बिक्री भएको कुरा आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशमा हुनुहुन्थ्यो । प्रधानमन्त्री नेपाल फर्केपछि एनसेलबारे बुझ्दा पूर्व स्वीकृति नलिई सेयर खरिद बिक्री गरेको थाहा पाएपछि मन्त्रिपरिषद् बैठकले खरिद बिक्री रोकेको छ ।’
विदेशमा सेयर खरिद–बिक्रीलाई नेपालको कानुनलाई कसरी हेर्छ, नेपालको कानुन अनुसार सेयर खरिद बिक्री भएको छ कि छैन भन्ने अध्ययनका लागि टंकमणि शर्माको नेतृत्वमा बनाइएको छानबिन समितिले दुरसञ्चार ऐन संशोधनको काम सुरु गरिसकेको उनले जानकारी दिइन् । एनसेलको तर्फबाट भने दूरसञ्चार प्राधिकरणमा कुनै जानकारी नआएको उनले बताइन् ।
यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिले २०८६ सालसम्म एनसेललाई सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि समितिले सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको सभापति रामहरि खतिवडाले बताए ।सरकारले गठन गरेको एनसेल छानबिन समितिको प्रतिवेदन नआउँदासम्म सेयर कारोबार कुनै पनि स्वीकृत तथा सहमति नदिन पनि सरकारलाई निर्देश गरेको छ । भने त्यसलाई आवश्यक ऐन र नियम संशोधन गर्नसमेत निर्देशन दिएको छ ।
मेरी छोरीमाथिको आक्रमण व्यवस्थामाथिकै हमला : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला भएको बताएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनी अक्रोशित हँुदै उक्त कुरा बताएका हुन् ।
उनको भनाइ थियो – मेरो परिवारमा अब तीन जना सदस्य मात्रै बाँकी छन् । एउटा छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छिन् । अर्की छोरी मेरो सचिवालयमा काम गरिरहेकी छन् । त्यो विचरा कस्तो छ, सबैलाई नै थाहा छ । उसलाई जोडेर कहिले उचालिएको छ, कहिले पछारिएको छ । यो लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला हो ।
उनले भावुक बन्दै अगाडि थपे, ‘प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरोविरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ? मलाई थाहा छ, चुप लागेको हो । यहाँ समितिमा प्रश्न उठेकोले जवाफ दिएको हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !