बर्दिया । बर्दियामा झन्डै २९ तोला सुनका विभिन्न गरगहनासहित प्रहरीले बाँकेका दुई जनालाई पक्राउ गरेको छ ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई शनिबार बेलुकी साढे ६ बजेतिर चेकका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–८१६८ नम्बरको कारसहित उनीहरू स्रोत नखुलेको २८ सेट सुनका गरगहनासहित पक्राउ परेका हुन् ।
गोप्य सूचनाका आधारमा पुगेको जिल्ला र इलाकाको संयुक्त गस्ती टोलीले बारबर्दिया नगरपालिका–९ कर्तनियाघाटस्थित चेकप्वाइन्टमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका व्यक्ति र बरामद स्रोत नखुलेका सुनका गरगहना भन्सार कार्यालय राजापुरको जिम्मा लगाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !