काठमाडौं । नेपाल प्रहरी अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित भएको छ ।
मंसिर १२ देखि अष्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।
नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक ( इन्स्पेक्टर) द्धय नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको “Let’s Save the Planet – INTERPOL 100” विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो ।
भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टिलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ ।
सो अवसरमा इन्टरपोलका अध्यक्ष डा. अहमद नासर अल-राइसीले प्रमाणपत्र हस्तान्तरण गरे ।
इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरले उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुलाई आह्वान गरिएको थियो ।
उक्त महासभामा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !