काठमाडौं । नेकपा (एमाले) को युवा संघ र राजावादी अभियन्ता एवम् व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ ।
युवा संघले तीन कुने र प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले बल्खुमा प्रदर्शन गर्दैछ ।
प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेर सुरक्षाकर्मीहरुलाई परिचालन गरेको छ । कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली समेत रहने व्यवस्था मिलाइएको छ ।
आज बिहानैदेखि काठमाडौंका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकका सुरक्षाकर्मी खटाइएको छ । शक्ति प्रदर्शन र संभावित झडपको त्रासका कारण विहानैदेखि सडकमा सवारी साधन कम गुडेका छन् । युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रीत गरेर प्रदर्शन गर्दैछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !