काठमाडौं । ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुईवटा दमकललाई आजदेखि सञ्चालनमा ल्याएको छ ।बुधबार एक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त दमकलहरुको उदघाटन गर्नु भयो ।

महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुईवटा अत्याधुनिक प्रविधिको दमकल खरिद गरेको जानकारी गराएको हो ।पाँच करोड ६६ लाख रुपैयाँ मूल्य पर्ने यी दुई दमकल खरिदका लागि महानगरपालिकाले ८ महिनाअघि सम्झौता गरेको थियो ।
अहिले ल्याइएको दमकलमा २ हजार ५ सय लिटर पानी र ३ सय लिटर फोम ट्यांकीको क्षमता रहेको छ ।यी दमकल अरु भन्दा सानो भएकाले साँघुरो बाटोमा समेत जानसक्ने भएको हुँदा विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि सहज हुने महानगरपालिका प्रमुख महर्जनले बताउनु भयो ।
यी दमकलले ५० डिग्री कोणसम्म पानी फाल्ने र सात तला माथिसम्मको आगलागी निभाउन सक्ने महानगरपालिकाले जनाएको छ । ललितपुर जुद्ध बारुण यन्त्रसँग नयाँ दमकलसहित अब ६ वटा दमकल रहेको छ ।

















