झापा । विर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिलान्यास गरेका छन्।
विर्तामोड नगरपालिका–४ देखि वडा नं ३ को आर्दश चोक नडियाबारी हुँदै वडा नं ९ को हल्दिबारी गाउँपालिकाको सम्झाना चोकसम्म जोड्ने एक हजार दुई सय मिटर लम्बाइको सडकको सभामुख घिमिरेले शिलान्यास गरेका हुन् । सो अवसरमा उनले निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न आग्रह गरे ।
सडक बोर्डले गत वर्ष विनियोजन गरेको एक करोड र चालु आर्थिक वर्षको एक करोड १० लाख गरी रु दुई करोड १० लाखको लागतमा सडक निर्माण हुन लागेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनका अनुसार सडक बोर्डले मुलुकमा विशेष महत्वका सडकलाई लक्षित गरेर बजेट विनियोजन गर्दै आएको छ ।
उनले पहिलो चरणमा बन्ने चार सय ५० मिटरको सडकको गत कात्तिक २० गते जनकपुरको एसडीएम कन्स्ट्रक्सन कम्पनीसँग ६० लाखमा विसं २०८१ असार मसान्तसम्ममा सकिने गरी ठेक्का सम्झौता भइसकेको जानकारी दिए । बाँकी रहेको आठ सय मिटर सडक एक करोड १० लाखको रकममा बन्ने गरी टेन्डर प्रक्रियामा गइसकेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !