गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरबिच भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको छ । मुसिकोट नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवलाल खरेल र जापानको ओइता प्रान्तको बुङ्गोओनो सिटीका नगर प्रमुख फूमितोशि खवानोबीच भगिनी सम्बन्ध कायम गर्नेगरी तीन बुँदे मैत्रीपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा दुवै नगरले आफ्नो देशको कानुनी व्यवस्था बमोजिम पारस्परिक समानताका आधारमा मैत्रीपूर्ण आदान प्रदान र सहयोगपूर्ण सम्बन्ध स्थापना गर्ने र कृषि लगायतका विभिन्न क्षेत्रका विषयमा दुवै नगरले समानता र पारस्परिक लाभको सिद्धान्तमा रही सहयोग आदान प्रदान गर्ने उल्लेख छ ।
दुवै पक्षले सहयोग र आपसी आदान प्रदान कार्यलाई प्रवर्धन गर्न प्रयासहरू गर्ने र आवश्यक परेमा थप विषयवस्तुउपर छलफल गर्ने समझदारी भएको छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बुङ्गोओनो सिटीका नगर प्रमुख फूमितोशि खवानोले दुई देशबिच व्यावसायिक सीप आदान प्रदान, पर्यटन, उद्योगको सम्भाव्यता लगायतका विषयमा छलफल गरिने बताउनुभयो ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नेपाल र जापान दुई राष्ट्रबिचमा पुरानो सम्बन्ध रहेको तथा हाल नेपालका विभिन्न ठाउँ र मुसिकोट नगरपालिकाबाट जापानमा गएका प्रवासीबाट व्यावसायिक र पेसागत एवम् पारिवारिक सम्बन्ध रहेको भन्दै भगिनी सम्बन्धले झनै प्रगाढ बनाएको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !