काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगा-चोकगढी नगरपालिका- १४ मा श्वेता श्री फाउन्डेसनले निर्माण गरेको माझी बस्ती लिलामीको जोखिममा पुगेको छ ।लक्ष्मी बैंक चौतारा शाखासँग प्रति घर चार लाख रुपैयाँ थप ऋण सम्झौताअनुसारको किस्ता फाउन्डेसनले तिर्न नसक्दा बस्ती लिलामीको जोखिममा पुगेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र फाउन्डेसनको रकमले माझी बस्तीमा ५३ घर पुनः निर्माण भएको थियो । लामो समयसम्म साँवा तथा ब्याज नपाएपछि बैंकले सुचना जारी गरेको छ । घर बनाउनकै लागि बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा बास नै गुम्ने चिन्तामा माझी समुदाय छन् ।
एकीकृत बस्ती निर्माणको अगुवाइ गरेको श्वेता फाउन्डेसनले सुरुमा घर बनाउन सहयोग जुटाइदिने बाचा गरेपछि बैंकबाट ऋण लिएर माझी समुदायले घर निर्माण गरेका थिए । २०७२ सालको भुकम्पले ध्वस्त भएको बस्ती पुनर्निर्माण प्राधिकरणको स्वीकृतिमा श्वेता फाउन्डेसनले डिजाइन गरेका घरहरु शौचालयसहित चार कोठाका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !