काठमाडौं । गैर सैनिक हवाई उड्डयन ऐन, २०१५ अनुसार पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भिआइपी कक्ष प्रयोग गर्ने व्यक्तिहरुको सुची राजपत्रमा प्रकाशित गरेको छ ।
मापदण्ड अनुसार भिआइपीको सुचीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री÷सरकार प्रमुख, प्रधानन्यायाधीश, सभामुख, पूर्वराष्ट्रप्रमुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख÷उपसभामुख, राज्यमन्त्री छन् ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञाप्रतिष्ठानका कुलपति/उपकुलपति, सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, सहायक मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख तथा सदस्य, महान्यायाधिवक्ता, मुख्यसचिव, प्रधानसेनापति, संसद्का महासचिव, उच्च अदालतका मुख्य न्यायाधीश, योजना आयोगका सदस्य, गभर्नर, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीले पनि भिआइपी कक्ष प्रयोग गर्न पाउँछन् ।
यसबाहेक नेपालस्थित विदेशी राजदूत, नेपाली राजदूत, सार्कका महासचिव, सर्वाेच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधीश, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक, सुरक्षा निकायका विशिष्ट श्रेणीका कर्मचारी र राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिका सदस्यसचिवले भिआइपी कक्ष प्रयोग गर्न पाउने उल्लेख छ ।
निर्णयमा नभए पनि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुखलाई पनि भिआइपी कक्ष प्रयोग गर्न दिने गरिएको छ । तर, केहीदिन अघि हतियार जफत भएका एक विवादास्पद म्यानपावर दलालले विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेका छन् ।
उनलाई विमानस्थलको भिआइपी कक्षसम्मै पुर्याउने कार्य भने कानुन कार्यान्वयनको जिम्मा पाएका नेपाल प्रहरीकै एक जना एआइजीले गरेका हुन् । नेपाल प्रहरीका एआइजी सन्दिप भण्डारीले हातहतियार खरखजनाका अभियुक्त समेत रहेका द रिभर ओभरसिजका मालिक समेत रहेका रघु पुरीलाई विमानस्थलको भिआइपी कक्षसम्म पुर्याएको तस्विर फेला परेको छ ।
भिआइपी कक्ष दुरुपयोग गर्नेमा मलेशियन नागरिक रणधिर सिंह समेत रहेका छन् । सिंह प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाकी श्रीमान हुन् । सिंह र पुरी दुवै जना नेपालको कुनैपनि भिआइपीको सुचीमा पर्दैनन् ।
विमानस्थलमा धेरैले भिआइपी कक्ष प्रयोग गर्न पाउने भए पनि पाँच उच्च पदका व्यक्तिको हकमा भने खानतलासीसमेत नहुने व्यवस्था कानुनले गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र संसद्का सभामुखको हकमा विमानस्थलमा सुरक्षा जाँचको क्रममा खानतलासी हुँदैन । विदेशीको हकमा पनि यिनै उच्च पाँच पदका व्यक्ति नेपाल भ्रमणमा आउँदा खानतलासीबाट उन्मुक्ति दिइने कानुनी व्यवस्था छ । प्रहरीका एआइजी नै भिआइपी कक्षसम्म भरिया बनेर पुगेपछि सिंह र पुरीमाथि खानतलासी हुने त कुरै आएन ।
तत्कालिन अपराध अनुसन्धान महासाखाले पुरीसहित विभिन्न व्यक्तिबाट अवैध हतियार जफत गरेको थियो । उनको साथबाट जिएिसजी ५ नामक सर्ट गन फेला परेको थियो । अर्धस्वचालित रहेको यो हतियार बोक्ने पुरीबाट शान्ति सुरक्षामा खलल पुगेको आरोप थियो ।
पुरीमाथि मानव तस्करीको समेत आरोप छ । उनले विभिन्न मुलुकमा पठाउँछु भन्दै सयौँ व्यक्तिहरुलाई अलपत्र पार्दै आएका छन् । पुरीले अवैध रुपमा केही युवालाई मकाउ पुर्याएर अलपत्र पारेको आरोप यसअघि नै लागेको थियो । तर, शक्तिको आडमा उनीमाथि कुनै कारबाही हुन सकेको थिएन ।
एआइजी भण्डारीको सन्देहष्पद भूमिका
उपत्यका प्रहरी प्रमुखका एआइजी दिपक थापा छन् । उनैको मातहतमा विमानस्थल सुरक्षाको कमाण्ड छ । तर, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा कार्यरत भण्डारी प्रहरीको बर्दीमै विवादास्पद छविका पुरी र सिंहलाई पुर्याउन भिआइपी कक्ष पुगेका थिए ।
तर, भण्डारी भने तस्विरमा देखिएको स्थल भिआइपी कक्ष नभएको बताउँछन् । ‘म विमानस्थल बसेको मान्छे हुँ । त्यो भिआइपी कक्ष होइन । म कुनै कामले गएको बेला भेट भएको होला । त्यो भिआइपी कक्ष होइन,’ उनले भने ।
तस्विरबारे कुराकानी गर्दा हतासिएका भण्डारीले तस्विरमा देखिएका व्यक्तिबारे प्रश्न गर्दा आफूलाई थाहा नभएको बताए । तर, शुरुमै भिआइपी कक्ष होइन भन्ने उत्तर दिएका उनले ती व्यक्तिबारे भने अनभिज्ञता प्रकट गरे । एआइजी भण्डारी कुनै समय विमानस्थल प्रहरी प्रमुख समेत थिए । हाल प्रशिक्षणको प्रमुख हुँदा त यसरी विवादास्पद धन्दाका व्यक्ति बोकेर विमानस्थल पुग्ने गरेका छन् । उनी विमानस्थलकै प्रमुख हुँदा के कस्तो धन्दा गरे होलान् भन्ने प्रश्न समेत उठेको छ । उनीमाथि यस्तै विवादास्पद मान्छेको भरिया बनेको आरोप छ ।
यद्धपी आफूहरुले भने भिआइपी कक्षमा जान पाउने उनले बताए ।
नागरिक उडयन प्राधिकरणको तर्फबाट विमानस्थल सुरक्षा प्रमुख बच्चु श्रेष्ठ परराष्ट्रको आधारमा मात्रै विदेशी नागरिकलाई भिआइपी कक्ष उपलब्ध गराउने बताउँछन् । ‘कुन एआइजीले लगेको हो उहाँलाई सोध्नुहोला । भिआइपी पाउँ भनेर आउनेका लागि मिनि भिआइपी कक्ष बनाइएको छ । त्यहाँ बसेको हुनपनि सक्छ,’ उनले भने ।diyopost बाट
फेसबुकबाट तपाईको प्रतिक्रिया !