काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेट भएको छ।

मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुअघि गुटेरेसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालले संयुक्त राष्ट्रसंघसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित सिद्धान्तमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले विद्यमान विश्व परिवेशमा देखा परिरहेका चुनौतीहरूको सन्दर्भमा संयुक्त राष्ट्रसंघले अझ महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

संयुक्त राष्ट्रसंघीय मिसनले नेपालको शान्ति प्रक्रियामा खेलेको मध्यस्तकारी भूमिका नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको र विश्वले नै उदाहरणीय मानेको नेपालको शान्ति प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसंघको भूमिका प्रशंसनीय भएको तिमिल्सिनाको भनाइ थियो।

शान्ति स्थापनाका लागि विश्वका विभिन्न मुलुकहरूमा संयुक्त राष्ट्रसंघले परिचालन गर्ने शान्ति सेनामा नेपालले सहभागिता जनाउँदै आएको स्मरण गर्दै उनले महासचिवको भ्रमणपछि शान्ति सेनामा नेपालको सहभागिता अझै बढ्ने विश्वास व्यक्त गरे।

भेटमा महासचिव गुटेरेसले शान्ति प्रक्रियामा नेपालले पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउने विश्वास दिलाए। उनले जलवायु परिर्वतनबाट परेको प्रभाव प्रत्यक्ष अनुभूत गरेको बताउँदै यसका असर न्यूनीकरणका लागि र पीडित राष्ट्रहरूले भोगिरहेको समस्याप्रति जानकार रहेको उल्लेख गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया !