काठमाडौं । नेपाली कांग्रेसले आज दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा चियापान कार्यक्रम गर्दै छ ।पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म चियापान कार्यक्रम चल्ने कांग्रेसले जनाएको छ ।चियापानमा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरू लगायतलाई आमन्त्रण गरिएको छ ।
यस्तै चियापानमा विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकार, गैरआवासीय नेपालीका संघ-संस्थाका प्रमुखलगायत विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकहरुलाई सहभागिता जनाउन कांग्रेसको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेसका अनुसार झन्डै १० हजार जनालाई चियापानमा आमन्त्रण गरिएको छ ।
२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान-प्रदान गर्दै आएको छ ।
चियापान कार्यक्रमलाई बीपीको निधनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिँदै आएका थिए ।
सुशीलको निधनपछि शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । कोरोनाका कारण भने विगतका वर्षहरूमा कांग्रेसको चियापान रोकिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !