काठमाडौं । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठले सरकारको तीन वटै अंगबाट संविधान मिचिएको बताउनुभएको छ ।शुक्रबार स्वतन्त्र कानून व्यवसायी मञ्चले आयोजना गरेको नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानून व्यवसायी मञ्चको भूमिका विषयक अन्तरक्रियामा बोल्दै पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मिचिरहेको भन्दै संविधानको भविष्यमाथि आशंका व्यक्त गर्नुभयो ।
पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले संविधानभित्र भएका छिद्रहरुलाई दुरुपयोग गरेर संविधान मिच्ने गरिएको बताउनुभयो । पूर्व राष्ट्रपतिले त सार्वजनिक रुपमै संविधान मिचेको स्वीकारेको उल्लेख गर्दै उहाँले सभामुखले समेत संविधान विपरितका कानूनहरु बन्दा पनि पास गराएर संविधान मिचेको बताउनुभयो ।
०४७ सालमा संविधान बनाउनेहरुले नै संविधान मिच्दा संविधान गएको भन्दै उहाँले अहिले पनि संविधान निर्माण गर्ने शक्तिहरुले नै संविधान मिचेको उल्लेख गर्नुभयो ।
नेपाल बार एशोसिएशनका पूर्वमहासचिव लिलामणि पौडेलले कानून व्यवसायीहरु स्वतन्त्र हुन नसकेका बताउनुभयो ।
उहाँले कानून व्यवसायीहरु राजनीतिक नियुक्ति वा जागिरको लोभमा नेताको घरदैलो चहार्ने गर्दा बदनाम हुनुपरेको बताउनुभयो । उहाँले केही दिन अघि न्याय परिषद्ले नियुक्त गरेका जिल्ला न्यायाधीशहरु कानूनी प्रवन्ध अनुसार नै भएका बताउनुभयो ।
पौडेलले कानूनी प्रवन्ध अनुसार न्यायाधीशहरु नियुक्त भएको भएपनि असक्षम र नालायक भएका भन्दै भ्रम छरिएको उल्लेख गर्दै सो भ्रम चिर्नुपर्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !