काठमाडौं । चीन भ्रमणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । हाङझावमा राष्ट्रपति चिनफिङले आयोजना गरेको दिवाभोजमा सरिक हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनफिङबीच संक्षिप्त भेट भएको हो ।

उनीहरूबीच द्विपक्षीय भेटवार्ता ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटवार्तापछि प्रधानमन्त्री १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुने भएका छन् । यस्तै, भोलि आइतबार प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जानेछन् । उनले बेइजिङमा सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
त्यस्तै, राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !