चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर दियालो बङ्गला दरबार खुला गरिने बताउनुभएको छ ।
भरतपुर-६ मा रहेको दक्षिणकाली पर्यटन सहकारीको पहिलो साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख दाहालले सकेसम्म सधैका लागि नभए भ्रमण वर्षलाई दरबार खुला गरिने उल्लेख गर्नुभयो ।
भरतपुर १ मा पर्ने दियालो बङ्गला दरबार नेपाल ट्रष्टको संरक्षण गर्दै आइरहेको छ ।
अहिले सर्वसाधरणले अवलोकन गर्न पाइदैन।
प्रमुख दाहालले दरबारलाई खुला गर्न कार्यपालिका बैठकबाट निर्णय गरी संस्कृति पर्यटन मन्त्रालयलाई पत्रचार गरिएको जानकारी दिनुभयो । यो विषयमा मन्त्रालय सकारात्मक रहेकाले नारायणहिटी संग्रालय ढाँचामा अवलोकनको व्यवस्थापन मिलाईने उहाँको भनाई छ ।
यो ऐतिहासिक धरोहरलाई अवलोकन गर्ने धेरैले इच्छा तथा चाहाना व्यक्त गर्नुभएको छ, यो भरतपुर आउने पर्यटकको रोजाईको केन्द्र बन्न सक्ने बताउनुभयो ।
यो दरबारमा राजा महेन्द्र चितवन आउने क्रममा बस्ने गरेको पाईन्छ भने राजा महेन्द्रको यही दरबारमा मृत्यु भएको थियो ।
भरतपुरमा चौकी डाँडादेखि गोलाघाटसम्म मूख्य ७ र भरतपुरभर ३२ बढी पर्यटकीय गन्त्वय रहेकाले यहाँको शिक्षा, स्वास्थ्य, कृषिमाफ्त पर्यटन पनि भित्र्याउन सकिने उहाँले बताउनुभयो ।
भरतपुर भ्रमण वर्षलाई सफल बनाउन भरतपुरवासीको भूमिका महत्वपूर्ण रहने यहाँको भनाई थियो ।
भ्रमण वर्षको तयारी अहिले धमाधम चलिरहेकाले पर्यटन पूर्वाधार पनि निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर ६ मा रहेको वन्यजन्तु आरक्षण केन्द्रलाई ओपन जु निर्माण गर्न ठेक्का सम्झौता भईसकेको समेत जानकारी दिनुभयो।
कार्यक्रममा पर्यटन सहकारीलाई योगदान पुर्याउने व्यक्तित्वहरु सम्मान पनि गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !