काठमाडौं । भारतको आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री एवं तेलुगु देशम पार्टीका प्रमुख एन. चन्द्रबाबु नायडुलाई प्रहरीले गिरफ्तार गरेको छ ।शनिबार बिहान ६ बजे नन्दयाला जिल्लाबाट नायडुलाई प्रहरीले गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्किल डेभलपमेन्ट घोटाला काण्डमा भारतीय आपराधिक अनुसन्धान विभाग (सीआईडी) ले पक्राउ गरेको जनाइएको छ ।यस भ्रष्टाचार काण्डमा नायडुविरुद्ध सन् २०२१ मा पहिलोपटक एफआईआर दर्ता भएको थियो । नन्दयाला सहरमा आयोजित एक जनसभालाई सम्बोधन गरेपछि उनी आफ्ना समर्थकसहित आराम गरेर बसिरहेका थिए । बिहान ३ बजेनै उनलाई गिरफ्तार गर्न प्रहरी टोली पुगे पनि बिहान ६ बजेमात्रै पक्राउ गरिएको थियो ।
गिरफ्तारीपछि उनलाई नन्दयाला अस्पतालमा स्वास्थ्य परीक्षणको लागि लगिएको छ । यहाँबाट उनलाई अदालतमा पेस गर्न लगिने जनाइएको छ । नायडुका वकिलले जमानतका लागि उच्च अदालत जाने जनाएका छन् । पूर्वमुख्यमन्त्रीका साथै उनका छोरा नारा लोकेशलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई ईस्ट गोदावरी जिल्लाबाट हिरासतमा लिइएको जनाइएको छ ।
केही दिनअघि नायडुले आफू गिरफ्तारमा पर्न सक्ने आशंका व्यक्त गरेका थिए । उनले आफूविरुद्ध थुप्रै किसिमका आरोप लगाउन खोजिएको जनाएका थिए ।
उनले ४५ वर्षको करियरमा आफूविरुद्ध कुनै किसिमको आरोप नलागेको उल्लेख गर्दै त्यस्ता आरोपहरुको प्रमाण नभएको दाबी गरेका थिए । उनीविरुद्ध पूर्वमुख्यमन्त्री बाईएस राजशेखरले रेड्डीले विभिन्न प्रकरणमा मुद्दा दायर गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !